नेपालले घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आउने चैतमा घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।
नेपाल र हङकङबीच आउँदो चैत १२ (मार्च २६) मा दशरथ रंगशालामा उक्त खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोटको अन्तिम खेफमा लाओससँग खेल्नुअघि नेपालले हङकङसँग खेल्न लागेको हो।
एसियन कपमा पुग्ने होडबाट बाहिरिसकेको नेपालले लाओससँग चैत १७ गते (मार्च ३१) खेल्दैछ।
नेपालले हङकङसँग एक वर्षमा दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । गत वर्ष जुनमा भएको मैत्रीपूर्ण खेलमा नेपालले हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो।
यस्तै नेपालले हङकङसँग तेस्रो पटक खेल्न लागेको हो। सन् १९८८ मा काठमाडौंमै यी दुईबीच भएको पहिलो खेल पनि गोलरहित बराबरीमै सकिएको थियो।
