चुनावमा उत्साहपूर्वक सहभागी हुनुस्: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन्।
नेपाली समाजका विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै उनले फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको पर्व भएको बताएका छन्।
शुभकामना सन्देशमा उनले फागु पूर्णिमासँगै प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अवसरका रूपमा आएको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
लोकतन्त्र सुदृढीकरण र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नेपालीलाई उनले आह्वान गरेका छन्। अन्त्यमा उनले फागु पूर्णिमाले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।
