आजदेखि एकसाता लामो सार्वजनिक बिदा

काठमाडौं । आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिवारसमेत जोड्दा आजदेखि लगातार सात दिन सार्वजनिक बिदा हुने भएको हो।

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। यही फागुन २०, २१ र २२ गते तीन दिन सरकारले निर्वाचन बिदा दिएको छ।

निर्वाचनको बिदा सुरु हुनुअघि आज र भोलि होली पर्व परेको छ। होलीका लागि आज फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा छ भने भोलि फागुन १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा छ।

फागुन २३ गते शनिवार परेको छ। फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ। त्यो दिन पनि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

नेपाल राष्ट्र बैङ्कले भने होली र निर्वाचनका सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।