डोल्पामा मतगणनामा लफडा,निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी
काठमाडौं। हिमाली जिल्ला डोल्पामा निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी परेको छ। जिल्लाको काइके गाउँपालिका वडा नं ४ र ५ को मतगणनाका क्रममा केही अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै जिल्लाको समग्र निर्वाचन रद्ध गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी परेको हो।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारले सामूहिक उजुरी दिएका हुन्।
उनीहरुले जिल्ला भरीको निर्वाचनमा कर्मचारी संयन्त्रबाटै ‘मिलेमतो’गरी गम्भीर कसूर गरेको आरोप लगाएका छन्। यदि आफूहरुले दिएको निवेदन उपर कार्यान्वयन नभएमा उच्च अदालतमा कानुनी उपचार खोज्ने पनि बताएका छन्।
उनीहरुले मतगणना गर्ने क्रममा मतदान भएका मतपत्रहरु मध्य पाँच वटा मतपत्रहरुमा मतदान अधिकृत र मतदाताका हस्ताक्षर नभएका अर्धकट्टीसहितको मतपत्र र सातवटा मतपत्र अर्धकट्टीहरु भेटिएको उजुरीमा उल्लेख गरेका छन्।
मुख्य निर्वाचनको अधिकृतको कार्यालयले यस अवस्थामा निर्वाचन आयोगको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यविधि अनुसार विवाद समाधान गरिने जनाएको छ। अब उक्त विवाद सर्वदलीय बैठकमार्फत् विवाद समाधान गरिने मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए।
