सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

सर्लाही । सर्लाहीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् । चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनीहरू विजयी भएका छन्।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन्। भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत पाएका छन्।

यसैगरी, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार रबिन महतो विजयी भएका छन्। उनले ४२ हजार ५१२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

महतोका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतोले ५ हजार ९९२ मत ल्याएका छन् ।

यस्तै,सर्लाही–३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरेका छन्। कलवारले श्रेष्ठलाई ३३ हजार ५ सय ५२ मतान्तरले पराजित गरेका छन्।

यस्तै, सर्लाही–४ मा रास्वपाका उम्मेदवार डा.अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। सिंहले थापालाई १२ हजा ८५७ मतले हराएका छन्।