आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड सम्बन्धी घटना छानविन गर्न गठित जाँचबुझ आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले आज प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन बुझ्ने र लगत्तै मन्त्रिपरिषद्मा पेस गरेर कार्यान्वयनमा ल्याइने जानकारी दिए । प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने बताइरहेकी छन्।
जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि कार्की नेतृत्वकझो अन्तरिम सरकारले गत असोज ५ गते ३ सदस्यीय आयोग गठन गरेको थियो। सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिए पनि आयोगले काम नसकेको भन्दै पटकपटक समय थपेको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारी दमनबाट ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग जाँचबुझ आयोगले बयान लिएको थियो ।
