सामाजिक सञ्जाल प्रयोगले मात्र खेलाडीको ध्यानभंग हुँदैन: उपकप्तान ऐरी

काठमाडौं। टी–२० विश्वकपको दौरान नेपालको कमजोर प्रदर्शन पछि प्रशिक्षक स्टुअर्ट लले खेलाडीहरूको सामाजिक सञ्जाल प्रयोगले ध्यान भंग भएको र त्यसले प्रदर्शनमा असर गरेको बताएका थिए। तर यस विषयमा नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले फरक मत राखेका छन्।

सुदुरपश्चिम रोयल्सको कार्यक्रम एसपीआर डगआउट युट्युब कार्यक्रममा बोल्दै ऐरीले सामाजिक सञ्जालले खेलाडीको प्रदर्शनमा ठूलो असर नगर्ने बताएका हुन।

उनले भने,मलाई त्यस्तो लाग्दैन कि खेलाडीले सोसल मिडिया चलायो भनेर त्यसले हाम्रो प्रदर्शनलाई धेरै प्रभाव पार्छ। पक्कै पनि कसैलाई ट्रोल गरियो भने दिमागमा अलि खेल्न सक्छ,तर सोसल मिडियाले नै पूरै इन्फ्लुएन्स गर्छ भन्ने मलाई लाग्दैन।

ऐरीका अनुसार खेलाडीहरूले मोबाइल प्रयोग गर्ने समय आफैं व्यवस्थापन गर्ने गर्छन्। मोबाइल चलाउने पनि आफ्नो समय हुन्छ—कहिले चलाउने, कति चलाउने। त्यसबाहेक जिम गर्ने,अभ्यास गर्ने जस्ता कामहरू त आफ्नै तालिकाअनुसार चलिरहेकै हुन्छन्,उनले भने।

उनले आफू सामाजिक सञ्जालमा खासै सक्रिय नभएको पनि बताए। फोटो वा भिडियो सेयर गर्नुपर्‍यो, वा ब्रान्डसँग सम्बन्धित पोस्ट राख्नुपर्‍यो भने मात्र सेयर गर्छौं। धेरैजसो खेलाडीहरूले खाली समयमा आइप्याडमा सिरिज हेर्ने, क्रिकेट म्याच हेर्ने जस्ता काम गरेर समय बिताउँछन्।

ऐरीले अन्त्यमा भने, कहिलेकाहीँ कसैले केही भनिदियो भने त्यसले नकारात्मक असर गर्न सक्छ, तर त्यो खेलाडीको सोचमा निर्भर गर्छ—उसले त्यसलाई कसरी सम्हाल्छ भन्ने कुरा महत्वपूर्ण हो। मोबाइल पनि त्यस्तै हो, कसरी र कति बेला प्रयोग गर्ने भन्ने कुरा नै मुख्य हो।