मनकामनाबाट फर्केको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु
पोखरा। गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेले रातोपाटीलाई दिएको जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए।
तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ। घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजे दुर्घटना भएको हो। गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ ।
ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
बाटो बन्दै गरेको र ढलान पनि त्यस्तै छ । बाटो निकै ठाडो र अप्ठ्यारो छ,उनले भने,त्यसमाथि पानी पनि परिरहेको छ । ब्रेक नलागेरै (ब्रेक फेल) गाडी खसेजस्तो लाग्छ ।’ रुट बाहिरको गाडी भएका कारण पनि बाटोबारे ज्ञान नभएको हुन सक्ने अनुमान गरिएको छ ।
