जेनजी आन्दोलनको प्रतिवेदन भोलि सार्वजनिक हुने
काठमाडौं । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले भोलि (सोमबार) विस्तृत आउने बताएका हुन् ।
‘प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने, अहिले भएको निर्णय यत्ति हो । यो भित्र सबै चिज पर्छ,’ सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै अर्यालले भने, ‘यसको विस्तृत चाहिँ भोलि आउँछ । यति बुझ्नुस् न अहिले ।
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार छलफल भएको थियो ।
उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ।
उक्त प्रतिवेदन पूर्ण सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ।
