संकटको घडीमा कमाण्ड सम्हालेका कार्की: प्रहरी संगठन जोगाउने रणनीतिमा सफल
काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सिर्जिएको अत्यन्त जटिल परिस्थितिमा नेपाल प्रहरीलाई जोगाउने निर्णय गरेका भन्दै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भूमिकाबारे अहिले व्यापक चर्चा भइरहेको छ। जाँचबुझ आयोगले केही प्रशासनिक सिफारिस गरे पनि घटनाको वास्तविक सन्दर्भले भने कार्कीको निर्णय प्रहरी संगठन जोगाउने रणनीतिक कदम भएको देखिएको छ।
जेन–जी आन्दोलनका क्रममा देशभर हिंसात्मक अवस्था सिर्जना भएको थियो। प्रदर्शनकारीहरूले सिंहदरबार, नेपालको सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय लगायत राज्यका महत्वपूर्ण संरचनामाथि आक्रमण र आगजनी गरेका थिए। दुई दिनसम्म चलेको उक्त घटनामा ७६ जनाको ज्यान गएको थियो भने सुरक्षा निकायमाथि व्यापक दबाब परेको थियो।
त्यतिबेला चार एआईजीहरु मध्ये कोहीले बिरामीको बहाना त कोहिले उपत्यकाको कमाण्ड लिन नमानेपछि नेपाल प्रहरीको साख जोगाउन तल्लिन तत्कालीन एआईजी दानबहादुर कार्कीले उपत्यकाको कमाण्ड गरेका थिए। भदौ २४ गते विहान ११ बजे बाट उपत्यकाको सुरक्षा कमान्ड सम्हालिरहेका तत्कालीन एआईजी कार्कीले प्रहरीको जनधन जोगाउने उद्देश्यले संयमित रणनीति अपनाएको बताइएको छ।
उनले ‘आफू सुरक्षित रहनू, हतियार जोगाउनू र अनावश्यक रूपमा गोली नचलाउनू’ भन्ने निर्देशन दिएका थिए। सुरक्षा विश्लेषकहरूका अनुसार अत्यधिक उत्तेजित भीडमा गोली चलाइए ठूलो जनधनको क्षति हुने जोखिम भएकाले संयम अपनाउनु जिम्मेवार नेतृत्वको संकेत हो।
प्रहरी ‘चेन अफ कमान्ड’ प्रणालीमा सञ्चालन हुने संस्था भएकाले कार्कीले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग समन्वय गरेर निर्णय गरेका थिए। त्यसैले जाँचबुझ आयोगले पनि उनलाई मुख्य दोषी नभई सहायक जिम्मेवारीमा राख्दै सामान्य ‘नसिहत’को सिफारिस मात्र गरेको छ।
बरु संकटका बेला प्रहरीलाई सुरक्षित राख्ने प्रयासमा कार्कीको भूमिका सकारात्मक देखिएको आयोगकै प्रतिवेदनमा उल्लेख छ। विशेषगरी महाराजगञ्ज प्रहरी कार्यालयमा आक्रमणपछि फसेका प्रहरीको उद्धारका लागि सेनाको हेलिकप्टर प्रयोग गरेर उद्धार गराउने काममा उनको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ।
जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भई सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएको थियो। सो सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
सुरक्षा जानकारहरूका अनुसार अत्यन्त तनावपूर्ण अवस्थामा पनि प्रहरी संगठनलाई पूर्ण विघटन हुन नदिई संरचना जोगाउनु नेतृत्वको ठूलो उपलब्धि मानिन्छ। भीड नियन्त्रणका क्रममा गोली चलाउने निर्णय सजिलो भए पनि त्यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्थ्यो। त्यसैले संयमित रणनीतिले ठूलो रक्तपात टार्न मद्दत गरेको धेरैको विश्लेषण छ।
यसै कारण धेरै प्रहरी अधिकारी र सुरक्षा विश्लेषकहरूले आईजीपी कार्कीको निर्णयलाई संगठन र जनजीवन दुवै जोगाउने प्रयासका रूपमा लिएका छन्। कठिन परिस्थितिमा पनि संगठनको मनोबल जोगाउँदै रणनीतिक निर्णय लिन सक्ने नेतृत्वका रूपमा कार्कीलाई इतिहासकै सफल प्रहरी प्रमुखमध्ये एक मान्ने आवाजहरू पनि बढिरहेका छन्।
