कैलालीमा सशस्त्रका डीएसपीमाथि हातपात,३३ सुरक्षाकर्मी जिल्ला तानिए

काठमाडौं । कैलालीको खक्रोला नाकामा रहेको शसस्त्र प्रहरीको बिओपीमै छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेका छन्।

टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा विल सहितको सामान नियन्त्रणमा लिएको विषयलाई लिएर गुल्मभित्र भीड पसेको हो।

त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो। सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोली समेतको सहभागितामा छलफल भएको थियो। छलफल सकिएपछि स्थानीय युवा र केही ब्यापारी गुल्ममै छिरेर डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका हुन्।

प्रहरीमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बलको ७ नं.वैद्यनाथ बाहिनीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेल बाहेक ३३ जनाको सिंगो टोलीलाई धनगढी तान्ने निर्णय भएको छ । मंगलबार साँझ टीकापुरको एसजीए ट्रेडर्सले ल्याएको विल सहितको सामानलाई सशस्त्रको बीओपी टोलीले ‘अवैध’ भन्दै नियन्त्रणमा लिएपछि तनाव भएको थियो।