अझै कहिलेसम्म पानी पर्छ,मौसममा कहिलेबाट सुधार आउँछ ?

काठमाडौं। देशका अधिकांश स्थानमा वर्षा गराएको मौसमी प्रणाली बाहिरिने क्रममा छ। शुक्रबार (चैत ६) बिहानदेखि पश्चिम नेपालबाट वर्षा सुरु भएको थियो। आज पनि काठमाडौंसहित केही भूभागमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।

शुक्रबारदेखि सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पछिल्लो २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जनरचट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा छ र उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

जलवायुविज्ञ धर्मराज उप्रेतीले वर्षा गराउने यो प्रणाली कमजोर हुँदै पश्चिम नेपालबाट बाहिरिँदै आएको उल्लेख गरेका छन्। अबका एक–दुई घण्टामा काठमाडौंलगायत स्थानमा भइरहेको सिमसिम वर्षा घट्दैरहट्दै जाने उनको पूर्वानुमान छ।

“पश्चिमी वायुको प्रभावले आएको वर्षा गराउने प्रणाली कमजोर हुँदै पश्चिम नेपालबाट बाहिरिँदै आएको छ,उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अबको एक–दुई घण्टामा काठमाडौंलगायतमा भइरहेको सिमसिम वर्षा घट्दै – हट्दै राति कोसी प्रदेशबाट बाहिरिने सम्भावना छ।

आइतबार (चैत ८) मौसम सफा हुने सम्भावना बलियो रहेको उनले जनाएका छन्।