हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादपछि कपिलवस्तुमा निषेधाज्ञा
काठमाडौं। कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाएको जनाएको छ। उक्त सूचना निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी गरिएको हो।
महाराजगन्ज–२ र ३ को सीमा क्षेत्रमा मुस्लिम समुदायको ईद र हिन्दु समुदायको नवरात्र मनाउने क्रममा विवाद उत्पन्न भएको प्रशासनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुस्लिम समुदायले नमाज पढिरहेका बेला हिन्दु पक्षले दुर्गा माताको पूजा गर्दै भजनको आवाज बढाएपछि विवाद सुरु भएको थियो। पछि भजनको आवाज घटाउने विषयमा दुई पक्षबीच झडप भएको बताइएको छ।
झडपमा प्रहरीसहित दुवै समुदायका एक बालकसहित ६ जना घाइते भएका छन्। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार स्थिति नियन्त्रणमा लिन ७ राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो।
प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै स्थिति नियन्त्रणका लागि क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
