यस्तै अवस्था रहे अर्को पटक एमाले एउटा स्कुटरमा अट्ने अवस्थामा पुग्छ: सुरेन्द्र पाण्डे

रुपन्देही। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कमजोरी सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने जति हुन सक्ने बताएका छन्। शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले पहिला ३/४ वटा बसमा आउने एमाले अहिले माइक्रोमा अट्ने भएको र कमजोरी नसुधारे भोलि एउटा स्कुटरमा अट्ने अवस्थामा पुग्न सक्ने बताएका हुन्।

एमालेकै कुरा गर्ने हो भने २०७४ सालमा १७४ सिट जितेर दिग्विजय हासिल गर्‍यौं भन्ने थियो । तर जोगाउन सकेनौं। कम्युनिस्टहरू पहिला ३/४ वटा बसमा आउँथे। ०७९ हुँदा एउटा बसमा आउने भयौं, अहिले एउटा माइक्रो बसमा अट्ने भयौुं, उनले भने,यस्तै अवस्था हो भने अर्को पटक स्कुटरमा आटाउँछौँ।

नेतृत्वले कमजोरी सुधार्न निर्मम नबन्ने हो भने पार्टीहरुले अबका निर्वाचनमा टिकट लिने व्यक्ति समेत नपाउने नेता पाण्डेले बताए। उनले भने, नेतृत्वले कमजोरी स्वीकार गर्ने र त्यसलाई सच्चाउन नखोज्ने हो भने हार्ने निर्वाचन लड्न कोही कार्यकर्ता किन जान्छ!