नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्छ: प्रभु साह

काठमाडौं। आम जनता पार्टी (आजपा)ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धलगायत संवेदनशील विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएको छ। पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आज भएको केन्द्रीय कमिटी बैठकले ती विषयमा जोड दिएको हो।

पार्टीका सचिवालय सदस्य सुभाष साहका अनुसार बैठकले जनचाहना अनुरूप देशमा शान्ति, विकास, अमनचैन कायम गर्न नयाँ सरकार ठोस मार्गचित्रका साथ प्रस्तुत हुनुपर्ने सुझाव दिएको छ।

प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि प्रश्न उठेकाले यसको स्वच्छता,निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन्।

निर्वाचन आयोगदेखि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आचारसंहिता उलङ्घन हुँदा समेत मौन बस्नु, एकपक्षीय प्रचार रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए। फेक आइडीको दुरुपयोग, मिडियाको एकपक्षीय प्रचार रोक्न नसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे।