कांग्रेस विवाद-छुट्टै भेला बोलाउने देउवा पक्षको तयारी

काठमाडौं। विशेष महाधिवेशनलगत्तै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक कलह पुनः सतहमा आएको छ।

गगन–विश्वप्रकाश पक्षले निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक जारी राखेकै बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले ‘पुरानै’ केन्द्रीय समितिको छुट्टै बैठक बोलाउने तयारी गरेपछि विवादले नयाँ मोड लिएको हो । निर्वाचनमा कांग्रेसले व्यहोरेको ‘सर्मनाक’ पराजयपछि देउवा पक्ष वर्तमान नेतृत्वसँग असन्तुष्ट देखिएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसै साता निवर्तमान केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाउने गृहकार्य थालेका छन् । नेता मीन विश्वकर्माले पार्टीको बृहत् एकताका लागि भन्दै खड्काले संवाद सुरु गरेको र यही साता बैठक बस्ने सम्भावना रहेको पुष्टि गरे ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव ल्याएपछि देउवा पक्ष थप आक्रोशित बनेको छ । उनीहरूले यसलाई ‘राजनीतिक स्टन्ट’ र ‘चटके कार्य’ को संज्ञा दिएका छन्।

सभापतिले राजीनामा सार्वजनिक नगरी सिधै अस्वीकृतिको प्रस्ताव ल्याउनु नाटक मात्र भएको इतर पक्षको तर्क छ । यद्यपि, संस्थापन पक्षले भने नैतिक जिम्मेवारी लिएर एकताको सन्देश दिन खोजिएको दाबी गरेको छ ।

कांग्रेस यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा ८८ सिटसहित पहिलो दल बनेको कांग्रेस यसपटक दोस्रो स्थानमा पुगेको हो । यही पराजयलाई अस्त्र बनाएर दुवै पक्ष एक–अर्कालाई गलाउने र १५औँ महाधिवेशनमा शक्ति आर्जन गर्ने रणनीतिमा लागेका छन् ।

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर परेको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई मान्यता दिए पनि अदालतको अन्तिम फैसला नआउँदा दुवै पक्षले आ–आफ्नो अस्तित्व दाबी गरिरहेका छन्।

पार्टी प्रवक्ता देवराज चालिसे भने विवादभन्दा पनि संरचनागत सुधार र १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिन्छन् , तर, देउवा पक्षले छुट्टै बैठक बोलाउने तयारी गरेसँगै कांग्रेसको राजनीति ‘एकता’ भन्दा ‘विभाजन’ तर्फ मोडिने जोखिम बढेको छ।