बिरामी बोकेको बहानामा एम्बुलेन्सबाट चुरोट र लागुपदार्थ तस्करी, चारजना पक्राउ

रसुवा। एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन्। आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौँतर्फ लैजान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

बिरामी बोकेको बहाना बनाई काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको बेत्रावति सुरक्षा चौकीले एम्बुलेन्स जाँच गर्दा तीन हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी रमेश रायका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक गतलाङका ४३ वर्षीय दावानुर्पु तामाङ, सोही गाउँपालिका–५ का चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ छन्।