इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, ४ जना घाइते

काठमाडौं। ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो।

पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सो घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द,सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल रहेका छन्।

गम्भीर घाइते चन्दलाई भने थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी वृत्त सातदोबाटोबाट खटिएका प्रहरी टोलीले उद्धारको काम गरिरहेको जनाइएको छ।