कम्तीमा २१ क्षेत्रमा अन्तर्घातकै कारण निर्वाचन हारेको कांग्रेसको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको बताए।
३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरूमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उनले बताए। ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष उनले सुनाए ।
चालिसेले भने, ‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ । यो भोटको माईग्रेसन मात्रै हो कि माइन्डसेट नै माइगे्रशन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौँ। ५ देखि ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ । ती सिट सङ्ख्याहरू २०र२१ वटा निर्वाचन क्षेत्रहरू छन् ।’
