संसदमा जेष्ठ सदस्य केसीको शपथ चैत ११ गते

काठमाडौं । नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा चैत ११ गते बिहान ११ बजेर १५ मिनेटमा शपथ लिने भएका छन् ।

सङ्घीय संसद् सचिवालयले ज्येष्ठ सदस्यका रूपमा केसीको नाम सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई शपथ खुवाउने भएका छन् ।

केसीले राष्ट्रपतिबाट ११ गते शपथ ग्रहण गरेपछि चैत १२ गते सङ्घीय संसद् भवनमा बाँकी २७४ जना प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित भएका थिए। तीमध्ये ७८ वर्षीय केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित भई ज्येष्ठ सदस्यका रूपमा चयन भएका हुन्।