निषेधित क्षेत्रमा घुमफिर गर्न पर्यटकले अब एकल अनुमति समेत पाउने
काठमाडौं। नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन्। अध्यागमन विभागका अनुसार अब एक जना पदयात्रीलाई समेत विभागले पदयात्रा अनुमति दिने भएको छ।
यसअघि निषेधित क्षेत्रमा जान माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति जारी गर्ने प्रचलन थिएन। सो अवस्थामा पदयात्रुले पदयात्रा साझेदार खोज्नुपर्ने बाध्यता थियो।
यसले पर्यटकलाई असहज भएको र पर्यटन प्रवर्द्धनमा समेत असर पुगेको भन्दै अध्यागमले सो निर्णय गरेको विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। उनका अनुसार यसरी अनुमति दिँदा पालना गर्नुपर्ने अन्य शर्त र नियम भने कानुन अनुसार नै हुनेछ।
जसमा एजेन्सीमार्फत आवेदन पेश गर्नुपर्ने,निजसँग अनिवार्य टे«किङ गाइड हुनुपर्ने र आपतकालीन अवस्थामा उद्धारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्ने सहितका शर्त छन्।
उता, एजेन्सीमार्फत समूहमा अनुमति लिँदा अब विभागले एक समूहमा बढीमा ७ जना पदयात्री रहने गरी अनुमति दिने निर्णय भएको छ।
एजेन्सीमार्फत एक समूहमा ठूलो संख्यामा पदयात्री निषेधित क्षेत्रमा पदयात्रामा रहँदा पदयात्रीको सुरक्षामा पर्याप्त ध्यान दिन सहज नहुने,एक जना टे्किङ गाइडबाट पदयात्रीका गतिविधि निगरानी असहज हुने लगायत अवस्थालाई मध्यनजर सो निर्णय भएको समेत विभागले जनाएको छ । विभागका अनुसार यसरी अनुमति माग गर्दा अहिले अनलाइन प्रणालीको प्रयोग गर्न सक्ने गरी सुविधा थप गरिएको छ।
पदयात्रामा जाने विदेशी नागरिकले पदयात्रा अनुमतिका लागि आवेदन दिँदा नेपालको स्वीकृत भिसा नम्बर राख्नुपर्ने व्यवस्था समेत विभागले परिमार्जन गरेको जनाएको छ। अब पर्यटकले आफ्नै मुलुकबाट पदयात्रा अनुमति आवेदन गर्न सक्ने छन्।
विदेशी पर्यटकले भिसा आवेदन नम्बरका आधारमा पदयात्राका लागि अनुमति दिने व्यवस्था गरिएको छ। विदेशी नागरिकका लागि नेपालका १३ वटा जिल्लामा निषेधित क्षेत्र तोकिएको छ। जहाँ जानु अगाडि अनिवार्य रुपमा अध्यागमन विभागबाट पदयात्रा अनुमति लिनुपर्छ।
