सभापति गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए।

शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति बनेका थिए। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो।