नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप,यस्ता छन् सेवाहरू ?
काठमाडौं। नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ (La basam) औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो प्लेटफर्मले नेपालमै विकसित प्रविधिको प्रयोगमार्फत आत्मनिर्भरतातर्फको नयाँ संकेत दिएको छ। कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै राइड–सेयरिङ एप सार्वजनिक गरेको हो।
काठमाडौंको तारकेश्वर– ८, शेषमतिमा कार्यालय रहेको ‘ल बसम’ हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुरु गरेको छ । छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ ।
स्वदेशी विकल्पको उदय
कम्पनीका सञ्चालकहरूले सुरुवाती चरणमा विदेशी राइड–सेयरिङ एपहरूको आवश्यकता रहेता पनि अब स्वदेशी प्लेटफर्म सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए। कम्पनीका सञ्चालक विष्णुराज गिरीले सबै सुविधासहितको नेपाली राइड सेयरिङ आइसकेकाले अब अन्य राइड सेयरिङतिर झुकाव राखिरहनु नपर्ने बताए।
उनले विदेशी एपमार्फत ठूलो नेपाली रकम बाहिरिएको र त्यसले अर्थतन्त्रमा असर पारेको उल्लेख गर्दै ‘ल बसम’ ले त्यसलाई न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कम्पनी सञ्चालकहरुको भनाइमा, ‘ल बसम’ केवल सेवा होइन, नेपाली प्रविधि, सीप र श्रमलाई एकीकृत गर्दै देशभित्रै आर्थिक मूल्य सिर्जना गर्ने अभियान हो ।
कम्पनीका अनुसार प्लेटफर्मको मुख्य लक्ष्य नेपालको यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र प्रविधिमैत्री बनाउनु हो । पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रयोगकर्तामा विश्वास निर्माण गर्ने रणनीति अपनाइएको कम्पनीले जनाएको छ ।
सुरुमा काठमाडौं उपत्यकामा सुरुआत गरिएको ‘ल बसम’ राइड सेयरिङ देशका अन्य मुख्य शहरहरुमा पनि विस्तार गर्ने योजना बनाइएको कम्पनीका अर्का सञ्चालक सिताराम अधिकारीले जानकारी दिए।
उनले भने, ‘तत्कालका लागि ल बसम राइड सेयरिङ हामीले काठमाडौँ उपत्यकामा सेवा सुरु गरेका छौं। छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं।कम्पनीले निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक अधिकारीले बताए ।
उनका अनुसार हाल २५० भन्दा बढी चालकहरु जोडिएका छन् । यो एप प्लेस्टोर र एपस्टोर दुवैमा उपलब्ध रहेको छ ।
महिला यात्रीका लागि ‘पिंक मोड’
‘ल बसम’ ले चालकलाई केवल ड्राइभर नभई साझेदार को रूपमा लिने अवधारणा अघि सारेको छ। कम्पनीका अनुसार चालकहरूको सम्मान र उचित अवसर सुनिश्चित गरिनेछ। त्यस्तै, यात्रुहरूलाई पनि ग्राहक मात्र नभई समुदायका सदस्यका रूपमा लिइनेछ। कम्पनीले चालक र यात्रुलाई प्लेटफर्मका ‘अभिभावक’ वा ‘परिवार’ को रूपमा परिभाषित गरेको छ।
महिला यात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै ‘पिंक मोड’ फिचर ल्याइएको छ, जसअन्तर्गत महिला यात्रीले महिला चालक नै छनोट गर्न सक्नेछन् । यसले महिला सशक्तीकरण र रोजगारीमा समेत टेवा पुर्याउने कम्पनीको विश्वास छ
यात्री र चालक दुवैका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको छ। यात्रुले राइड बुक गर्नुअघि नै अनुमानित भाडा देख्न पाउनेछन् । साथै, यात्रुले आफ्नो बजेटअनुसार भाडा प्रस्ताव गर्न सक्ने र चालकले त्यसलाई स्वीकार वा अस्वीकार गर्न सक्ने सुविधा पनि रहेको छ ।
प्रत्येक यात्रापछि यात्री र चालक दुवैले डिजिटल कुपन प्राप्त गर्नेछन्। पछि लक्की ड्रमार्फत नगद, स्मार्टफोन र अन्य ग्याजेटहरू जित्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले सुरक्षाका लागि प्रत्येक चालकको प्रमाणीकरणका लागि लाइसेन्स, ब्लु बुक र सवारीसाधनको फोटो अनिवार्य गरेको छ । रियल–टाइम लाइभ ट्रयाकिङ र आपतकालीन अवस्थाका लागि एसओएस बटनको व्यवस्था गरेको जनाएको ।
