सहकारीको दर्ता अभिलेखीकरण चैत १७ देखि बन्द हुने

काठमाडौं । चैत १७ देखि सहकारी संस्थाहरूको अभिलेखीकरण बन्द हुने भएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया बन्द जनाएको हो।

प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ बमोजिम २०८२ मङ्सिर १० गतेदेखि सुरु भएको दर्ता अभिलेखीकरणको प्रक्रिया चैत १७ गतेसम्म मात्र रहने जनाएको छ।

प्राधिकरणले सम्बन्धित सहकारी संस्थाहरूले तोकिएको समयभित्रै निर्धारित दस्तुर बुझाएको बैंक भौचर र आवश्यक विवरणहरू अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ।

यद्यपि, तोकिएको समय भित्र दस्तुर बुझाइसकेर पनि प्राविधिक वा अन्य कुनै कारणले पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेका सहकारीहरूको हकमा भने प्राधिकरणले आगामी २०८३ वैशाख १७ गतेसम्मका लागि समय दिएको छ।