लेखक महेश्वर पन्तको कथासङ्ग्रह: धर्तीमुनिका ताराको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चितवन। अक्षर समूह चितवनको आयोजनामा डायोस्पोरिक कथाकार लेखक महेश्वर पन्तको धर्तीमुनिका तारा कथासंग्रहमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहजीकरण गर्दै संस्थाका अध्यक्ष लेखराम सापकोटाले कथाकार पन्त व्यक्तित्व र कृतित्वको विषयमा प्रकाश पारेका थिए ।

सहभागी साहित्यकार सुरेन्द्र अस्तफलले विदेशमा रहेका नेपालीको सङ्घर्षको जीवनको सपाट व्याख्या कथामा रहेको विचार व्यक्त गरे। समालोचक उदय अधिकारी,कविद्वय गणेश श्रवण, भूपिन खड्काले कथासंग्रह धर्तीमुनिको तारा नेपालीको जनजीवनको सचित्र वर्णन भएको बताए ।

समालोचक पूर्ण प्रसाद अधिकारीले पन्तको हजुरबासँगको साक्षात्कारको विषय राख्दै कथाकार पन्तको साहित्यिक उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। कार्यक्रममा बोल्दै कथाकार पन्तले आफूलाई चितवनले स्वागत गरेकोमा आभारी रहेको बताए।

कार्यक्रममा चितवनका प्रबुद्ध साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम होटल हेप्पी होम नारायणगढको सभाहलमा भएको थियो।