निर्दोष जीवनको जन्मदिनमा अनाथ बालबालिकालाई फलफूल तथा पुस्तक वितरण
प्रेम प्रसाद कडेल
चितवन। गैंडाकोट १ का लेखक निर्दोष जीवनले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरू सँग मनाएका छन्। उनले भरतपुर महानगरपालिका-२३ मा रहेको आशा अनाथालय पुगेर त्यहाँ आश्रित बालबालिकाहरूसँग जन्मदिन मनाएका हुन्।
आश्रममा आयोजित कार्यक्रममा निर्दोषले ११७ जना अनाथ बालबालिकाहरुलाई फलफूल वितरण गरेका हुन्। साथै, उनले २०० थान ‘मुना’ मासिक बालपत्रिका र ३० थानभन्दा बढी बालसाहित्यका पुस्तक बालबालिकालाई हस्तान्तरण गरे।
जन्मदिनमा हुने अनावश्यक तडकभडकप्रति असन्तुष्टि जनाउँदै निर्दोषले रचनात्मक कार्यमार्फत दिनलाई स्मरणीय बनाउन चाहेको बताए। जन्मदिनमा फजुल खर्च गर्नु मलाई मन पर्दैन,उनले भने, आजको विशेष दिनमा केही सकारात्मक र उपयोगी काम गरुँ भनेर यहाँ आएको हुँ।
सबैभन्दा ठूलो कुरा सबै बालबालिकालाई पठन संस्कृतिको विकास र विस्तार गर्न आजको आधुनिक नेपाली समाजको आधार पनि हो। कार्यक्रममा सम्पूर्ण किताबमा निर्देशक लेखराम सापकोटाले सहजीकरण गरे।
पछिल्लो समय चितवन र नवलपरासी क्षेत्रमा जन्मदिनको अवसरमा विद्यार्थी तथा बालबालिकालाई पुस्तक,शैक्षिक सामग्री तथा आवश्यक सामग्री वितरण गर्ने सकारात्मक परम्परा विकास हुँदै गएको देखिन्छ। सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको सचेतनालाई बल पुग्ने यस्ता कार्यले समुदायमा प्रेरणादायी सन्देश प्रवाह गरिरहेको छ।
