रमेश लेखकको बयान: जोखिम र घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ
काठमाडौं। तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष भदौ २३ को प्रदर्शनका क्रममा गृह सचिव र सुरक्षा प्रमुखहरूलाई बल प्रयोग गर्दा कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था नआओस् भनेर निर्देशन दिएको बयान दिएका छन्।
आयोगले सरकारलाई बुझाए पनि गोप्य नै राखिएको प्रतिवेदनमा लेखकले भदौ २२ गते साँझ बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको र त्यहाँ राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी लगायत सबै सुरक्षा निकायबाट भदौ २३ को जेनजी आन्दोलन शान्तिपूर्ण हुने जानकारी प्राप्त भएको बताएका छन्।
‘गृहमन्त्रीको हैसियतले मैले २३ गतेको प्रदर्शनका सन्दर्भमा गृहसचिव र सुरक्षा प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, मृत्यु हुने अवस्था नआओस् तथा जोखिम र सम्भावित घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ,आयोगसमक्ष लेखकले दिएको बयानमा उल्लेख छ।
उनले भदौ २४ को घटनालाई युवाको मागभन्दा पृथक ढङ्गले हेर्नुपर्ने भन्दै आपराधिक कार्यमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारबाही हुनुपर्छ भन्नेमा आफू दृढ रहेको पनि बताएका छन्।
