‘रास्वपाको रणनीति बुझ्न ढिलो नगरौं, पुराना दलहरु एकजुट भइहाल्यौं’
रुषा थापा
कांग्रेस र एमालेको आन्दोलनबाट एक सय चार वर्ष लामो राणा शासन कालको अन्त्य भयो । २००७ सालमा मुलुकमा प्रजातन्त्रको स्थापना भयो। तर, ०१७ पुस १ गते तत्कालिन राजा महेन्द्रले कु्र गरे । मुलुकमा पञ्चायती शासन रहन थाल्यो । त्यसको पनि कांग्रेस–एमालेले विरोध गरे। ०४६ चैत २४ गते पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो ।
मुलुकमा यो परिवर्तन ल्याउन कांग्रेस–एमालेले ठूलो बलिदान दियो । आन्दोलनको क्रममा धेरैले ज्यान गुमाए । कतिपयले जेल जीवन काटे । तैपनि उनीहरुले हार मानेनन् । र, मुलुकमा व्यवस्था परिवर्तन गरेरै छोडे । ०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्यो । राजतन्त्रको अन्त्यसहित ४१ सुत्रीय माग माओवादीको थियो ।
दश वर्ष चलेको जनयुद्धमा १७ हजार जनता शहिद भए । हजारौं घाइते र अंगभंग भए भने हजारौं अझै बेपत्ता छन् । जनयुद्धको क्रममा माओवादी नेता–कार्यकर्ताको टाउकोको मूल्य तोकिएको हुँदा उनीहरु भूमिगत बसेका थिए । त्यतिबेला माओवादी नेता कहाँ छ ? भनी जानकारी गराउने व्यक्तिलाई प्रतिटाउको मूल्य ५० लाख रुपैयाँ राज्यले पुरस्कार दिने घोषणा गरेको थियो ।
जनयुद्धबीच ०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले क्रु गरे । त्यसपछि भारतको नयाँ दिल्लीमा भूमिगत रहेको माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सहमति भयो । र, ०६२ चैत २४ गतेदेखि आन्दोलन शुरु भयो । १९ दिन चलेको आन्दोलनमा दर्जनौंले ज्यान गुमाए । हजारौं घाइते भए । अन्ततः ०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गर्दै विद्यटित संसद् ब्यूताएँ ।
त्यसपछि माओवादी पनि शान्ति वार्तामा आयो । अन्तरिम संविधान, ०६३ ल्याइयो । र, ०६४ चैत २८ गते पहिलो पटक संविधान सभाको निर्वाचन भयो । तर, पहिलो संविधान सभा निर्वाचनबाट संविधान नबनेपछि ०७० सालमा फेरि चुनाव भयो । ०७२ असोज ३ गते नेपालको संविधान बन्यो । यो संविधानअनुसार मुलुक संघीयतामा गयो ।
हाल संघीय, सात प्रदेश र ७५३ वटा स्थानीय सरकार छन् । त्यस्तै, संघमा प्रतिनिधिसभा र राष्ट्रियसभाको व्यवस्था भयो भने प्रदेशमा प्रदेशसभा। राणा शासन कालमा होस् या पञ्चायतमा नेपालीलाई विदेश जान रोक लगाइएको थियो । त्यतिबेला खेतपाती गरेर आफ्नै गाउँमा बसिन्थ्यो । त्यतिबेला अहिलेजस्तो विद्यालय थियो न स्वास्थ्य चौकी ।
बत्ती नहुँदा साँझ पर्नेबित्तिकै मानिसहरु सुतिहाल्थे । सडक र यातायात नहुँदा महिनौं हिँडेर काठमाडौं आउनुपर्ने अवस्था थियो । खोलामा पुल पनि थिएन । त्यतिबेला सञ्चार भनेकै कसैलाई थाहा थिएन । चिठ्ठी पठाउन महिनौं वा वर्षौसम्म लाग्थ्यो । बिरामी वा सुत्केरी हुँदा स्वास्थ्य चौकी, अस्पताल नहुँदा घरमै ज्यान गुमाउनुपर्ने स्थिति थियो ।
जनता अशिक्षित थिए । के गलत र के सही ? भन्ने छुट्याउन सक्ने चेतनासमेत जनतामा थिएन । तर, त्यो अवस्थाबाट हामी यो अवस्थासम्म आइपुगेका छौं । पहिले खेतबारी भएका त खेतपाती गरेर खान्थे, कमाउँथे । तर, जमिन नभएकाहरु भोकभौक मर्नुपर्ने अवस्था थियो । रोजगारी केही हुँदैन्थ्यो । ०४६ सालपछि वैदेशिक रोजगारीमा जाने व्यवस्था भयो ।
ऋणधन गरेर मानिसहरु कामका निम्ति विदेश जान थाले । र, आफ्नो परिवार पाल्न थाले । अहिले उनीहरुले करोडौंको सम्पत्ति जोडेका छन् । गाउँ गाउँमा विद्यालय र स्वास्थ्य चौकी बनिसकेका छन् । बत्ती पुगिसकेको छ । कुनै बेला एउटा चिठ्ठा पठाउन महिनौं कुर्नुपर्नेमा अहिले फोनबाटै सम्पर्क गर्न सकिन्छ । खोलामा पुल बनेका छन् ।
अहिले एकाध ठाउँबाहेक धेरै ठाउँमा सुत्केरी हुँदा उपचार नपाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था छैन । जनतामा चेतनाको वृद्धि भएको छ। के सही र गलत ? राम्ररी छुट्याउन सक्ने भएका छन्, सर्वसाधारण । साक्षरता दर पनि बढेको छ । पहिला बालबालिकासमेत पढ्न नहुने भन्ने हाम्रो समाजमा अहिले वृद्धावस्थामा पढ्नसमेत प्रोत्साहन गरिन्छ ।
अर्कोमुख्य कुरा, सडक र यातायात । ०४६ सालअघि सडक र यातायात नहुँदा कहिकतै जानुपरेमा महिनौं हिँड्नुपथ्र्यो । हिँड्न सक्ने त हिँड्थे तर हिँड्न नसक्नेहरुले बाटोमै ज्यान पनि गुमाएको थुप्रा घटना छन् । तर, अहिले गाउँ गाउँमा बाटो पुगेको छ । गाडी गुड्छ । गाडी नजाने ठाउँमा विमान वा हेलिकप्टर जान्छ ।
अनि यो सबै विकास कसले गर्यो त ? कांग्रेस–एमालेलगायत पुराना दलले होइन र ? होला उनीहरुले भ्रष्टाचार गरे ? तर, यसो भन्दैमा मुलुकमा उनीहरुका कारण आएको परिवर्तन र विकासलाई नकार्न सकिन्न । ०७९ वैशाख ३० गते स्थानीय तह चुनाव भयो । ०४६ सालपछि कांग्रेस–एमालेले जित्दै आएको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) भारी मतसहित विजयी भए ।
त्यतिबेला रवि लामिछाने सञ्चारकर्मी थिए । ग्यालेक्सी टेलिभिजनमा उनी कार्यक्रम चलाउँथे । बालेनले चुनाव जितेको देखेर उनले ०७९ असार ७ गते निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दर्ता गराए । रोचक कुरा चाँहि त्यो बेला उनी नेपाली नागरिक थिएनन् । ०५६ सालमा नेपाल छोडेर अमेरिका गएका रविले ०६६ सालमा नेपाली नागरिकता त्यागेर अमेरिकी पीआर–ग्रिनकार्ड लिए ।
अमेरिकामा घरायसी झगडा र दर्जनौं ठगी मुद्दा परेपछि ०७१ जेठमा उनी भिजिट भिसामा नेपाल आए । त्यसपछि उनले सीधा कुरा जनतासँग कार्यक्रम चलाए । त्यसैक्रममा उनीमाथि आफ्नै सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लाग्यो । तर, भीडका कारण उनले सफाइ दिए । त्यही लोकप्रियता र बालेनको प्रगाति देखेर उनले रास्वपा खोलेका थिए ।
०७९ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा रास्वपा सहभागी भयो । प्रत्यक्षतर्फ सातसहित २१ सिट जित्यो । चुनावअघि प्रतिपक्षमा रहने वाचा गरेका रवि प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बने । त्यसपछि उनका थप काण्ड बाहिरियो । उनी नेपाली नागरिक नै नभएको सर्वोच्च अदालतले ठहर गर्यो । यसपछि रविको गृहमन्त्रीसहित सबै पद गुम्यो ।
उनले नेपाली नागरिकता लिए । उता, केही समयपछि उनी फेरि सहकारी काण्डमा मुछिए । अहिले रविमाथि पाँच वटा जिल्लामा सहकारी ठगीको मुद्दा विचाराधीन छ । राहदानी दुरुपयोग, संगठित र सम्पत्ति शुद्धिकरणको मुद्दा पनि उनीमाथि छ । यही कसुरमा पनि जेलसमेत पुगे । त्यसक्रममा जेनजी आन्दोलन भयो । जुन आन्दोलनमा बालेन र रवि दुवैको समर्थन थियो ।
उनीहरुकै कारण जेनजी आन्दोलन त्यो हदसम्म पुगेकोमा दुईमत छैन । यद्यपि, गत फागुन २१ गतेको चुनावमा रास्वपा पहिलो पार्टी बन्यो । एक सय ८२ सिट रास्वपाले जित्यो । बालेनको नेतृत्वमा सरकार गठन भइसकेको छ । लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरियो । अन्य दलका नेतालाई पनि पक्राउ पर्ने तयारी छ ।
मुलुकमा व्यवस्था फेर्ने पुराना नेताहरुलाई सम्पत्ति शुद्धिकरणमा जेल कोचेर आफूहरुको शासन चलाउने रणनीति रास्वपाको देखिन्छ । त्यसैले, अब पुराना सबै राजनीतिक दल मिल्नुपर्छ । नभए मुलुकमा ठूलो संकट आउनसक्छ । बालेनको शपथ ग्रहणबाटै थाहा हुन्छ कि उनमा राजावादी भावना छ । उनी राजा ल्याउन र हिन्दुराष्ट्र स्थापना गराउन चाहन्छन् ।
अनि हजारौं नागरिकको बलिदानीबाट अन्त्य भएको राजतन्त्र ब्युताउँन जनताले रास्वपालाई भोट दिएका हुन् र ? त्यसैले, अब पुराना दलले छिट्टै बुद्धि नपुर्याए सबै त्याग र बलिदान खेर जानेछ ।
