होल्डिङ् सेन्टरका १४ बालबालिकालाई विद्यालय पठाइयो
काठमाडौं । काठमाडौं महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ् सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनका लागि विद्यालय पठाएको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका, सुविधा उपलब्ध गराउने विद्यालय र अभिभावक बिच त्रिपक्षीय सम्झौता गरेर बालबालिकाका लागि कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो।
सम्झौतामा महानगरपालिकाका तर्फबाट शिक्षा अधिकारी नमराज ढकाल, विद्यालयका तर्फबाट प्रधानाध्यापक र विद्यार्थीका तर्फबाट अभिभावकले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि विद्यालयका अधिकारीहरूले विद्यार्थी र अभिभावकसँग परामर्श गर्नुभएको थियो । विद्यार्थीहरूको निःशुल्क आवासीय अध्ययनका विषयमा बैठकले विभिन्न ४ प्रस्तावमा निर्णय गरेको छ । विद्यार्थीहरू आउँदो आइतबारदेखि विद्यालय जानेछन् ।
राधा स्वामी होल्डिङ् सेन्टरमा ६१ जना बालबालिकाको नाम दर्ता भएको छ। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न गएका छन् ।
प्याब्सन अन्तर्गतका १० वटा विद्यालयसँग सम्झौता गरिएको छ । प्याब्सनका जिल्ला अध्यक्ष नवराज भट्टका अनुसार सम्झौता गरिएका विद्यालयहरु एन्जल हर्ट स्कुल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कुल कपन बुढानीलकण्ठ, नेक्सस इन्टरनेशनल स्कुल पेप्सीकोला, इनोभेटिभ स्कुल शंखमुल, हेम्स स्कुल कालोपुल, केएमसी शंखमुल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कुल जोरपाटी र सुप्रिम इन्टरनेशनल स्कुल चावहिल हुन् ।
एनप्याब्सन अन्तर्गतका ३ वटा विद्यालयसँग सम्झौता भएको छ । एनप्याब्सन महानगर समिति अध्यक्ष नवराज पाण्डेका अनुसार प्रोग्रेसिभ सेकेण्डरी स्कुल चावहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेशनल आइडल बोर्डिङ स्कुल मन्डिकाटारसँग सम्झौता भएको हो ।
विद्यार्थीको अध्ययन निरन्तरताका लागि काठमाडौं महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नेछ । विद्यार्थीका लागि आवश्यक पर्ने विद्यालयले तोकेको पोशाक, झोला, स्तेशनरी तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।
विद्यालयले आवास सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनेछ । र विद्यार्थीहरूलाई अन्य विद्यार्थी सरह सुविधा उपलब्ध गराउनेछ । साथै अभिभावकसँग भेट गराउनेछ । महानगरपालिका र अभिभावकहरुसँग समन्वय गर्ने, सहजीकरण गर्ने तथा शैक्षिक सूचना प्रदान गर्नेछ ।
अभिभावकहरूले समय समयमा विद्यालयमा उपस्थित भएर विद्यार्थीको शैक्षिक प्रगतिका विषयमा जानकारी लिनुपर्नेछ । लामो समय विद्यालय छुट्टी भएमा विद्यार्थीहरूलाई जिम्मा लिएर परिवारसँग बस्ने प्रबन्ध मिलाउनु पर्नेछ । विद्यालयले तोकेको अवधिका विद्यालय लैजानु पर्नेछ । काठमाडौं महानगरपालिका र विद्यालय प्रशासनसँग नियमित सम्पर्कमा रहनु पर्नेछ ।
