दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले थुनामै राख्न आदेश दिएको हो ।

सर्वोच्चले यस मुद्दाको पेसी भोलिका लागि तोकेको छ । ‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू आदेशमा उल्लेख छ।

खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो।