संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी,लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रतिनिधिसभाअन्तर्गतका विषयगत र संयुक्त गरी ११ वटा समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।

आज बसेको रास्वपा संसदीय दलको बैठकबाट उम्मेदवार छनोट भएपछि सांसदले प्रतिनिधिसभाका नौ वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा उम्मेदवारी दिएका हुन्।

रास्वपाले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय छ।

रास्वपाको तर्फबाट कानून, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले उम्मेदवारी दिनुभएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेदवारी दर्ता गराउनुभएको छ।

प्रतिनिधि र राष्ट्रियसभाअन्तर्गतको संयुक्त समिति, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ। यस्तै अर्को संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्कीले मनोनयन दर्ता गराउनुभएको छ।

यसैबीच प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ।

संयुक्त समिति र प्रतिनिधिसभाको विषयगत समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेबाट गुरु बरालले मनोनयन दर्ता गराउनुभएको छ।

सङ्घीय संसद्को संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपाबाट मदनकुमारी साहले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो। संसदीय समितिका सभापतिका लागि भोलि शुक्रवार चुनाव हुँदैछ।