बालेन नेतृत्वको सरकार निरङ्कुशताको बाटोमा अघि बढ्यो: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको बाटोमा अघि बढेको आरोप लगाएका छन्।
बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी सङ्गठन खारेजी गर्न लागेको भन्दै सरकार निरङ्कुशताको बाटोमा अघि बढेको बताएका उनले बताए।
सरकारले ल्याउन लागेका अध्यादेशको विषयमा बोल्दै उनले भने,सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ। यो संसदीय परम्पराको समेत विरुद्धमा छ, त्यसो नगर्न हामीले सरकारलाई सावधान गराएका छौँ। यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधान विपरीत हो।
प्रचण्डले सुकुम्वासीहरूको वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर वा डोजर चलाएर जुन काम गरिएको छ,त्यो बिलकुल गलत भएको बताए।
उनले भने,यो तरिका ठिक छैन, यदि सुकुम्वासीहरू गलत तरिकाले अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक स्थिति बुझेर छानबिन गर्नुपर्छ। तर, सरकारले हतास शैलीमा बल प्रयोग गर्यो।
तत्कालीन माओवादी सरकारकै पालामा सुकुम्वासीको वैकल्पिक व्यवस्थापनका लागि अपार्टमेन्ट बनाइएको हो,तर त्यसबेला काम सम्पन्न हुन नसकेको स्मरण पनि गरे। अहिले सेना र सशस्त्र प्रहरीसमेत प्रयोग गरी हजारौँ परिवारलाई बिचल्ली पार्ने काम भएको उनको भनाइ छ।
‘सरकारले उनीहरूको व्यवस्थापनमा तुरुन्तै ध्यान देओस्,उनले भने। साथै, प्रचण्डले सरकारले गर्ने राम्रा काममा हामी सहयोग गर्ने र गलत कामको विरोध गर्ने पनि बताए।
