त्रिविका उपकुलपति,रेक्टर र रजिस्ट्रारले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.दीपक अर्याल, रेक्टर प्रा.खड्ग केसी र रजिस्ट्रार प्रा.केदारप्रसाद रिजालले राजीनामा दिएका छन् । नयाँ सरकारलाई सहयोग गर्न भन्दै उनीहरूले राजीनामा दिएका हुन ।

सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामा दिएका हुन्। केसीले सरकारलाई काम गर्न सजिलो होस् भनेर आफूले राजीनामा दिएको बताएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई २०८२ असार २५ गते त्रिविको उपकुलपतिमा नियुक्त गरेका थिए । तत्कालीन उपकुलपति प्रा। केशरजंग बरालले राजीनामा दिएपछि अर्याललाई कुलपति नियुक्त गरिएको थियो।

केसी र रिजाल भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा २०८० चैत ३० गते क्रमशस् रेक्टर र रजिस्ट्रारमा नियुक्त भएका थिए। उनीहरूलाई तत्कालीन उपकुलपति बरालको सिफारिसमा नियुक्त गरिएको थियो। त्रिविको पदाधिकारी कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था छ ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको सरकारको भनाइ रहेको छ।