विश्वकप डिभिजन लिग-२ : आज नेपाल र युएई खेल्दै
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज नेपाल र युएईबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजदेखि सुरु हुँदैछ।
जारी सिरिजमा नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेको थ्यियो भने दोस्रो खेलमा ओमानसँग हार बेहोरेको छ । त्यस्तै पहिलो खेलमा नेपालसँग हार बेहोरेको युएईले दोस्रो खेलमा ओमानमाथि जित हासिल गरेको थियो।
त्यस्तै लिग-२ मा हालसम्म नेपालको २२ खेलमा १४ अङ्क रहेको छ र सातौं स्थानमा रहेको छ भने युएईको २२ खेलमा १२ अङ्क रहेको छ र अन्तिम स्थानमा रहेको छ।
नेपाल र युएई एकदिवसीय क्रिकेटमा अहिलेसम्म १५ पटक आमने सामने भएका छन् । जसमा नेपालले ९ पटक जित हासिल गरेको छ भने युएईले ६ पटक जितेको छ।
यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की,आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन्।
मे ५ सम्म हुने यस सिरिजमा तिनै देशले एक अर्काविरुद्ध २-२ खेल खेल्ने तालिका रहेको छ। जस अनुसार अब मे ३ मा ओमान र युएई तथा मे ५ मा नेपाल र ओमान खेल्ने तालिका रहेको छ।
