एमालेमा ओलीको विकल्प खोज्नुपर्ने ‘पुनर्जागरण भेला’को निष्कर्ष

काठमाडौं। नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले शनिवार काठमाडौंको मीनभवनमा ‘पुनर्जागरण भेला’ आयोजना गरेका छन्।

भेलाले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । हालैको चुनावी पराजयको मुख्य जिम्मेवारी वर्तमान नेतृत्वको कार्यशैली र कमजोरी रहेको ठहर गर्दै सहभागीहरूले पार्टीमा पुस्तान्तरण अनिवार्य भएको बताएका छन् ।

केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहित करिब १३० जना नेता–कार्यकर्ताको सहभागिता रहेको चार घण्टे भेलाले पार्टी अध्यक्षले एकलौटी रूपमा कब्जा गरेको, युवा नेतृत्वलाई गुटबन्दीको आरोप लगाएर भूमिकाविहीन बनाइएको र आन्तरिक लोकतन्त्र समाप्त भएको आरोप लगाएको छ।

भेलाले सातवटै प्रदेशमा ‘पार्टी पुनर्जागरण तथा पुस्तान्तरण’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यसका लागि विशेष महाधिवेशनको मागसहित देशव्यापी बहस र हस्ताक्षर सङ्कलनलाई तीव्रता दिने योजना बनाइएको छ।

अनेरास्ववियुका उपमहासचिव कमल जोशीले अहिलेको नेतृत्वबाट पार्टी सही दिशामा अगाडि बढ्न नसक्ने भन्दै नेतृत्व परिवर्तनको एजेन्डालाई प्रखर रूपमा उठाउने बताए ।

भेलामा पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, अनेरास्ववियुका पूर्व अध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, युवा सङ्घका उपमहासचिव उपेन्द्र शाही लगायतले ओली नेतृत्वले पार्टीभित्र विचारको बहस र आन्तरिक लोकतन्त्रलाई समाप्त पारिएको आरोप लगाए । उनीहरूले ओलीले नेतृत्व नछाडेसम्म पार्टीको भविष्य सङ्कटमा पर्ने चेतावनी दिएका छन्।