कपनको साततले,पाथीभरा र तेन्जिङ चोकमा पनि चल्यो डोजर

फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ ।

सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा आइतबार बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको हो ।

कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको काठमाडौंका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।

धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर, विष्णुमति नदी किनारस्थित कामपा–१६ बालाजु–माछापोखरी र तिलगंगा क्षेत्रका अतिक्रमित संरचना खाली गर्नेक्रम चलिरहेको छ । उनका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र करिब दुई हजार तीन सय बढी घरटहरा हटाइएको छ ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगरमा १५–२०, बालाजुमा ३ र तिलगंगामा ८९ संरचना आज हटाइँदै छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि गत शनिबारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुमवासी बस्ती हटाउने क्रम सुरु भएको हो । शनिबार काठमाडौँको थापाथाली, सिनामंगल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो ।

अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । त्यहाँ राखिएका भूमिहीन सुकुमवासीको पहिचान गरी उनीहरुलाई व्यवस्थापन पनि गरिएको छ।

बस्ती हटाउने क्रममा प्रभावित बनेका परिवारलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुमवासीको पहिचान गर्न थालेको छ । सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्नेलगायत काम पनि जारी छ ।