आइसिसी विश्वकप लिग-२: ओमानमाथि नेपालको सानदार जीत

काठमाडौं।आइसिसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई ८१ रनले हराएको छ।
ओमानले ३९.५ ओभरमा सबै विकेट गुमाएर १७५ रन बनाउन सक्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो।

इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो। तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले।

आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए। उनले ७ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे।

अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पुर्‍यायो।
ओमानका लागि नदीम खानले ३ विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान २–२ विकेट लिए।

२५७ रनको लक्ष्य बोकेर मैदानमा उत्रिएको ओमानलाई हराउन गुल्शन झाले ५ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिह ऐरी नन्दन यादवले समान एक एक विकेट लिए।