गगन,विश्व र पूर्णबहादुरबीच भेट,के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान खड्का निवास गल्फुटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा तीन नेताबीच कांग्रेस एकतालगायतका विषयमा छलफल भएको बताइएको छ।
सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि सभापति थापाले वैशाख ६ गते खड्कालाई भेटेका थिए । यस्तै वैशाख १५ मा सभापति थापा र नेता रमेश लेखकबीच भेटवार्ता भएको थियो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन्।
मंगलबार थापाले नेता डा. शेखर कोइरालासँग उनको विशालनगरस्थित सम्पर्क कार्यालयमा पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल गरेका थिए।
