विदेशमा उपचार गराउने पूर्वविशिष्टहरूविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं। पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ।

विदेशमा उपचार गरेको खर्च राज्यले व्यहोर्ने कार्यविधि नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयबाट उनीहरुले उपचार खर्च पाएका थिए। उक्त रिटको पसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

राज्यका पूर्व पदाधिकारीहरूले स्वदेशमा उपचार गर्न मिल्ने अवस्था हुँदाहुँदै पनि विदेशमा गएर उपचार गर्ने र मन्त्रिपरिषद्को निर्णयबाट उनीहरूको उपचार खर्च व्यहोर्ने अभ्यास हुँदै आएको थियो।

२०७५ सालमा जनस्वास्थ्य ऐन जारी गरेर त्यस्तो क्रियाकलापमा रोक लगाइएको भए पनि अर्को कार्यविधिमा भएको व्यवस्था अनुसार विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदै आएका थिए।