ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जना चालकको सवारी लाइसेन्स निलम्बनका लागि सिफारिस गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ३१ जना चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो ।
प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी १६ पटकसम्म गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न विभागलाई पत्राचार गरिएको जानकारी दिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानुनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको हो।
पटक–पटक जरिवाना तिराउँदा पनि सवारीचालकहरूमा नियम पालना गर्ने प्रवृत्ति विकास नभएपछि लाइसेन्स नै निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ । लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्।
यस कारबाहीले काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पूर्ण पालनामा मद्दत पुग्ने ट्राफिक प्रहरीको विश्वास छ।
