रविको प्रश्न-बहुमतले एक जनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेकुरा कसरी असंवैधानिक भयो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एक जनालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको विषयलाई ‘सडक बहस’ बनाउन नहुने बताएका छन्।
आईतबार पार्टी सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उनले संवैधानिक परिषद्मा आएका नामहरुमध्येबाट बहुमतले एकजनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेकुरा कसरी असंवैधानिक भयो रु भन्दै प्रश्न गरे।
उनले प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषद्मा भागबण्डानै चलिरहने टिप्पणी गरे।
उनले भने, ‘प्रधानन्यायाधीश सिफारिसको लागि ६ जना न्यायाधीशको सिफारिस रास्वपाको सरकारले वा रास्वपाको उपस्थितिमा भएको होइन। त्यो त संवैधानकि परिषद्मा सिफारिस भई बसेको थियो।
परिषद्मा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गैसकेपछि योग्य भएको न्यायाधीशहरुबाट प्रधानन्यायाधीश चयन गर्दा विधि मिचिएको मानिन्छ भने संविधान संशोधनको बहस चलेको छ गरौँ बहस। तर होइन परम्परा भत्काइयो भन्नुहुन्न भने मैले के भन्नुपर्छ भने यदि त्यही परम्परामा जाने हो भने ६ जनाको उपस्थिति भएको संवैधानिक परिषद्मा आज एक जना नियुक्त हुने छलफल सकिदैनथ्यो।
अहिले पनि भागबण्डाको छलफल चलिरहेको हुन्थ्यो साथि हो। हामीलाई भागबण्डामा विश्वास छैन। त्यसकारण हामीले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एकजनालाई प्रधान न्यायाधीशको लागि सिफारिस गरेका हौँ।
संवधैधानिक आयोगमा सिफारिस गरिएका विषयलाई अनावश्यक छलफलको विषय नबनाउन समेत सबैमा आग्रह गरे।
