कांग्रेसबाट निर्वाचित दैलेको भैरवी गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा

काठमाडौं। दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाही प्रहरी नियन्त्रणमा परेकी छन्। दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बैंकिङ कसुरको आरोपमा अध्यक्ष शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। एक जना स्थानीय व्यक्तिलाई उनले दिएको ५ लाख बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो।

उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।

बैंकिङ कसुरमा मुद्दा परेपछि गाउँपालिका अध्यक्ष शाही आफैँ प्रहरीकोमा आएर उपस्थित भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले बताए। अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।