३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर उपहार जिते

काठमाडौं। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र अर्थसचिव डा.घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो।

यस पटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किन्ने उपभोक्ता १० लाख रुपैयाँको बम्पर उपहारका विजेता बनेका छन्।

साउनको १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन् । १६ दिनका १–१ जना गरी १६ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका छन् । यो १६ दिनमा नगद कारोबारका ३ लाख ५७ हजार १४९ वटा बिल दर्ता भएका छन्।

साउनको पहिलो १५ दिनमा यस्तो बिल ७ हजार ७७ वटा मात्रै दर्ता भएको थियो । यस्तै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी हुने कारोबार पनि बढेको छ । यस्तो कारोबार २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।

विभागका अनुसार पछिल्लो १७ दिनमा उपहार योजनामा कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार सहभागी भएका छन्। उपहारमा २५ प्रतिशत कर काटिन्छ ।