गुण्डुमा विद्या भण्डारी र ओलीबीच २ घण्टा लामो सघन छलफल
काठमाडौं । नेकपा एमालेमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको चर्को आवाज उठिरहेको बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार २ घण्टाभन्दा लामो छलफल भएको छ।
गुण्डु पुगेकी भण्डारीले पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई निवासमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइएको छ । भण्डारी ओली अस्पतालमै रहेका बेला पनि भेट्न गएकी थिइन्। ओलीले भण्डारीको सदस्यता नवीकरण नगरेर उनलाई पार्टीको सक्रिय राजनीतिमा आउन रोकेका थिए।
एमालेमा पदाधिकारीहरुकै तहबाट ओलीलाई राजीनामा गराएर पार्टी पुनर्गठनको प्रयास भइरहेका बेला उनीहरुबीच छलफल भएको हो। आइतबार गुण्डुमा पछिल्लो अवस्थाका बारेमा पनि पूर्वराष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री ओलीबीच गम्भीर छलफल भएको बताइएको छ।
एमालेमा भइरहेका पछिल्लो भेला तथा नेताहरूका अभियानको बारेमा पनि दुई नेताबीच समीक्षा भएको जनाइएको छ। पछिल्लो समय ओली र भण्डारीबीच चिसिएको सम्बन्धमा सुधार आएको बताइन्छ।
ओलीले नेतृत्व छाड्ने अवस्थामा अहिलेका पदाधिकारीबाट कोही पनि विकल्प नरहेको भन्दै एकथरी नेताले अन्तरिम अवधिका लागि भने पनि विद्या भण्डारीको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउँदै आएका छन्। भण्डारी पनि एकपटक एमालेको नेतृत्व लिन इच्छुक छन्।
