जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

काभ्रे। काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको हालसम्म नामथर र ठेगाना खुल्न सकेको छैन।

दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स घटनास्थलमा खटाइएको छ।

दुर्घटनाको कारण र मृतक तथा घाइतेको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।