सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

काठमाडौं। सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज पुलको ४१ नम्बर ढोकामा आइतबार साँझ करिब ५ः२० बजे को ६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–१ भलवा बस्ने अन्दाजी ३५ वर्षीय मोटरसाइकल चालक ओम साफी र सोही स्थानका २० वर्षीय मंजय साफी घाइते भएका थिए।

घाइते ओम साफीको भारदह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार मंजय साफीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनको उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।