अर्थमन्त्री बनेको ३० दिनमै ३ सय वटा निर्णय गरेँ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्री पद सम्हालेपछि सानातिना गुनासो गर्ने ठाउँ नरहने भन्दै आफू मन्त्रालयमै केन्द्रित भएर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको बताएका छन् । अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गरेको करिव ३० दिनमै आफूले ३ सय वटा जति निर्णय गरिसकेको जानकारी दिए ।

व्यस्त कार्यतालिकाका बीच पनि सांसदहरूका कुरा सुन्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले छोटो समय भएपनि भेटघाट र छलफललाई निरन्तरता दिएको बताए । अर्थमन्त्री वाग्लेले मन्त्रालयको कामलाई प्राथमिकतामा राख्न आफूले बाहिरी कार्यक्रम, उद्घाटन, माला–खादा र समारोहमा सहभागी हुने क्रम लगभग बन्द गरेको उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले भने, ‘मन्त्रीको कुर्सीमा बसिसकेपछि सानातिना कुराहरूले गुनासो गर्ने ठाउँ रहँदैन । लगभग म ३० दिनमा ३०० वटा निर्णय जति मैले गरेको रहेछु । व्यस्त समयका बीच पनि सांसदहरूलाई सकेसम्म मैले चाहेजति समय दिन सकेको छैन । यद्यपि छोटो उभिएरै भएपनि मैले कुरा गर्ने चाहिँ तपाईँहरू धेरैलाई थाहा नै छ । २ मिनेट ३ मिनेट भए पनि तपाईँहरूको कुरा सुन्ने मेरो इमान्दार प्रयास रहिआएको छ र त्यसो गर्नका लागि बाहिरी खादा, माला, समारोह, उद्घाटन इधर उधर लगभग बन्द भएको छ ।

जहाँ जहाँ मलाई देख्नुभएको छ, त्यो टार्नै नसकेर, जानै पर्ने भएर र केही एकदमै चर्चित विदेशी वक्ताहरू पनि आएको ठाउँमा मेरो पुरानो पहिचानका हिसावले पनि कर्टसीका लागि १र२ ठाउँमा गएको छु। नभए मन्त्रालयमै कैद भएर १२, १४, १६ घण्टासम्म हामी काम गरिरहेका छौँ र यहाँहरूले केही सद्भाव राखेर सुझावहरू पनि दिईराख्नुभएको छ। एउटा चाहिँ जनरल गुडविल पनि मैले पाएको छु।

अत्यावश्यक अवस्था, औपचारिक दायित्व वा अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तिहरू सहभागी कार्यक्रममा मात्रै उपस्थित हुने गरेको उनको भनाइ थियो । उनले अहिले आफू अधिकांश समय मन्त्रालयमै रहेर काम गरिरहेको उल्लेख गर्दै सांसदहरूबाट सुझाव र सद्भाव दुवै प्राप्त भएको बताए ।