‘क्यान्टिनमा बसेर चिया-समोसा खाँदै अध्यक्ष हटाउने कुरा उचित होइन’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको भन्दै आपत्ति जनाएका छन्।

इलाममा आयोजित कार्यक्रममा ओलीले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याउने चेतावनी दिए। अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई ‘अराजकताको पराकाष्ठा’ भने।

पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे। उनले पार्टीको एउटा विधि र विधान हुने भन्दै उनले महाधिवेशनबाट चुनिएको नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु अराजकता भएको तर्क गरे।

‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया–समोसा खाँदै पार्टी अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु गम्भीर विषय हो। अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो’, उनले भने,‘अस्ति मात्र महाधिवेशन सम्पन्न भएको छ।

पार्टीको आफ्नै विधि, प्रक्रिया र समय हुन्छ। अहिले विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला सिङ्गो पार्टी एकजुट भएर त्यसको सामना गर्नुपर्ने हो। तर पार्टीभित्रै अध्यक्ष हटाउनेजस्ता अनावश्यक कुरा उठाउनु उचित होइन । त्यसैले साथीहरूलाई पार्टीप्रति दृढ विश्वास राखेर अघि बढ्न आग्रह गर्दछु।

पार्टीमाथि बाह्य शक्ति र विरोधीहरूले तीव्र प्रहार गरिरहेको समयमा सिंगो पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै ओलीले आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने बताए। अध्यक्ष ओलीले अब बस्ने केन्द्रिय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाउने स्पष्ट पारे।

सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने कार्य रोक्न आग्रह गर्दै गर्दै उहाँले पार्टीमा बस्ने भए अनुशासन पालना गर्न निर्देशन दिए।

अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई कुनैपनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अगाडि बढ्न आग्रह गरे।