सार्वजनिक खर्चमा मितव्ययी बन्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय,आयोग,सचिवालय,कार्यालय,निकाय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेकका सामान नकिन्न परिपत्र गरेको हो।

परिपत्रमा भनिएको छ,कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरू खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण,फर्निचर, सवारी साधनहरूलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी गर्नु गराउन हुन निर्णयानुसार अनुरोध छ।

कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापट लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यसैले, सार्वजनिक खर्चमा मितव्ययी अपनाउन परिपत्र गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।