काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले जेठ २१ गते भित्र अनिवार्य रूपमा क्रियाशील अद्यावधिक गर्नुपर्ने निर्णय गरेको हो।

समितिले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य सञ्जाल भएको पार्टी बनाउने लक्ष्यसहित विभिन्न प्रविधिमैत्री व्यवस्था लागू गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार नेपाली कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन फाराम भरेर सदस्यता अद्यावधिक गर्न सक्नेछन् । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको छ।

अनलाइनमार्फत अद्यावधिक गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरेर कृत्रिम बुद्धिमत्ता आधारित सहायकमार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको समितिले जनाएको छ ।

त्यसैगरी केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने बताइएको छ । साथै ९७०१२५५५५५ नम्बरमा सम्पर्क गर्दा सोधिने प्रश्नहरूको उत्तर दिएर फोनबाटै अद्यावधिक फाराम भर्न सकिने सुविधा पनि मिलाइएको जनाएको छ ।

विदेशमा रहेका नेपाली कांग्रेससँग आबद्ध नेपाली जनसम्पर्क समितिका सदस्यका लागि समेत ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको काँग्रेसले जनाएको छ ।

समितिले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको उल्लेख गर्दै तोकिएको समयभित्रै सदस्यता अद्यावधिक गर्न र गराउन मातहत निकायलाई निर्देशन दिएको छ ।